कमलामाई नगरपालिकाका मेयर पोखरेलको घरमा अख्तियारको छापा

काठमाडौँ – सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले छापा मारेको छ ।

अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सोमबार सिन्धुलीमाढीस्थित मेयर पोखरेलको घरमा पुगेर छापा मारेको हो । टोलीले मेयर पोखरेलसँग घरमै गएर सोधपुछ समेत गरेको बताइएको छ ।

अख्तियारका अनुसार सिन्धुलीमाढीस्थित पुरानो सभाहल भत्काउँदा त्यहाँबाट निकालिएको सयौँ क्युफिट काठ हिनामिना भएको उजुरी परेपछि उक्त विषयमा अनुसन्धान भइरहेको छ । सभाहल भत्काउँदा नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ हराएको विषयमा उजुरी परेपछि अख्तियार सक्रिय भएको हो ।

अख्तियारका एक अधिकृतले छापा क्रममा मेयर पोखरेलको घरमा काठ नभेटिएको जानकारी दिएका छन् । उनले भने, “उहाँको घरमा काठ भेटिएन, हामी अनुसन्धान गर्दै छौँ ।”

अख्तियारले उक्त काठ कहाँ र कसरी हरायो भन्ने विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।