गलकोट – गण्डकी प्रदेशमा सर्वाधिक अङ्क प्राप्त गर्दै बागलुङको गलकोटस्थित नरेठाँटी स्वास्थ्यचौकी उत्कृष्ट बनेको छ । न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गर्दै स्वास्थ्यचौकी प्रदेशकै पहिलो स्थानमा पुगेको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार विभिन्न स्वास्थ्य सूचकका आधारमा गरिएको मूल्याङ्कनमा नरेठाँटी स्वास्थ्यचौकीले उच्च नतिजा हासिल गरेको हो । गत वर्ष पनि ९६ प्रतिशत अङ्कसहित पहिलो स्थानमा रहेको उक्त स्वास्थ्यचौकीले यस वर्ष आफ्नो नतिजा थप सुधार गरेको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेका अनुसार स्वास्थ्यकर्मीको मेहनत, सेवाप्रतिको लगाव र प्रभावकारी व्यवस्थापनका कारण उत्कृष्ट नतिजा सम्भव भएको हो ।
मूल्याङ्कनमा भवनको अवस्था, पानी–बिजुली, शौचालय, प्रतीक्षालय, सेवा कक्ष, अपाङ्गमैत्री पहुँच, फोहर व्यवस्थापन, कर्मचारी दरबन्दी, तालिमप्राप्त जनशक्ति, ओपिडी, मातृशिशु सेवा, खोप, परिवार योजना, पोषण, क्षयरोग तथा कुष्ठरोग सेवा, आकस्मिक प्राथमिक उपचार, औषधि तथा उपकरणको उपलब्धतालगायत सूचक समावेश गरिएको थियो ।
गलकोट–२ का वडाध्यक्ष हेमन्त भण्डारीले स्वास्थ्यचौकीले गुणस्तरीय सेवा प्रवाह गर्दै आएका कारण प्रदेशमै उत्कृष्ट बन्न सफल भएको बताए । स्थानीय तहले सेवा सुधार र आवश्यक स्रोत व्यवस्थापनमा निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ ।



