पर्वत, – पर्वतको जलजला गाउँपालिका–९ बनौको जङ्गल यतिबेला राताम्य भएको छ । सामान्यतया फागुनको अन्तिम सातातिर फुल्ने राष्ट्रिय फूल लालीगुराँस यस वर्ष भने माघमै फुल्न थालेपछि स्थानीय मात्र होइन, वातावरणविद्हरू पनि चासोमा परेका छन् ।
वन क्षेत्रभरि ढकमक्क फुलेको लालीगुराँसले प्राकृतिक सौन्दर्य थपे पनि यसको असामान्य समयले मौसमीय परिवर्तनको संकेत दिएको स्थानीय बताउँछन् । “पहिले फागुन अन्तिमतिर मात्रै लालीगुराँस फुल्थ्यो, अहिले माघमै डाँडाकाँडा राताम्य देखिन थालेका छन्,” स्थानीयवासीले बताए ।
विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा तापक्रम क्रमशः बढ्दै जाँदा वनस्पतिको प्राकृतिक चक्र प्रभावित हुँदै गएको छ । लालीगुराँस जस्तो हिमाली तथा पहाडी क्षेत्रमा पाइने वनस्पति समयअघि फुल्नु जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हुन सक्ने वन विज्ञहरूको भनाइ छ ।
वनस्पति समयभन्दा चाँडो फुल्दा परागसेचन, बीउ उत्पादन र जैविक चक्रमा असर पर्ने सम्भावना रहने उनीहरू बताउँछन् । “फूल फुल्ने समय सर्दै जानु केवल सौन्दर्यको कुरा होइन, यो पर्यावरणीय असन्तुलनको संकेत पनि हो,” एक वातावरणविद्ले भने ।
जलजला क्षेत्र लालीगुराँसका लागि प्रसिद्ध मानिन्छ । माघमै फुल्न थालेपछि यतिबेला जंगल घुम्न आउने आन्तरिक पर्यटकको संख्या पनि बढ्न थालेको स्थानीय होटल व्यवसायी बताउँछन् । राताम्य पहाड र वनले फोटो खिच्ने र घुम्न आउनेलाई आकर्षित गरेको छ ।
तापक्रम वृद्धि, वन क्षेत्रको अतिक्रमण र मानवीय गतिविधिका कारण लालीगुराँसको प्राकृतिक चक्रमा दीर्घकालीन असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । विज्ञहरूले वन संरक्षण, जलवायु सचेतना र प्राकृतिक प्रणालीको अध्ययनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
लालीगुराँसको समयअगावै फुलाइले जलवायु परिवर्तनको संकेत मात्र नभई भविष्यमा हिमाली तथा पहाडी जैविक प्रणालीमा आउने सम्भावित परिवर्तनतर्फ ध्यानाकर्षण गराएको छ ।



