एचपिभी खोप अभियान ४९३ स्थानीय तहमा सञ्चालन

काठमाडौं – पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान देशका ५६ जिल्लाका ४९३ स्थानीय तहमा सञ्चालन गरिएको छ ।

स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार हिमाली र पहाडी भेगका २१ जिल्लाबाहेक अन्य ५६ जिल्लामा अभियान सञ्चालन गरिएको हो । माघ २५ गतेदेखि सुरु भएको अभियान हिमाली तथा उच्च पहाडी जिल्लामा चिसो र हिमपातका कारण अहिले सञ्चालन गर्न नसकिएकाले ती क्षेत्रमा चैत महिनामा सञ्चालन गरिने उनले जानकारी दिए ।

प्रदेशगत रूपमा कोशी प्रदेशका नौ जिल्लाका ८८ स्थानीय तह, मधेस प्रदेशका आठ जिल्लाका ८५ स्थानीय तह, बागमती प्रदेशका १० जिल्लाका ९४ स्थानीय तह, गण्डकी र लुम्बिनी प्रदेशका ११ जिल्लाका ९५ स्थानीय तह, कर्णाली प्रदेशका पाँच जिल्लाका ३१ स्थानीय तह तथा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका ७० स्थानीय तहमा खोप अभियान सञ्चालन भइरहेको छ ।

सरकारले कक्षा ६ मा अध्ययनरत किशोरी, विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका बालिका तथा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको हो । ह्युमन पापिलोमा भाइरस (एचपिभी) सङ्क्रमण पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भएकाले त्यसबाट बच्न खोप आवश्यक मानिन्छ ।

डा. गौतमका अनुसार २० दिनसम्म सञ्चालन हुने अभियानमार्फत करिब तीन लाख ५० हजार किशोरीलाई एचपिभी खोप लगाइने लक्ष्य रहेको छ । नेपालमा महिलामा देखिने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरका कारण महिलाको मृत्यु हुनेमध्ये यो पहिलो स्थानमा पर्ने गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।