वीरगञ्जमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज – वीरगञ्ज महानगर क्षेत्रमा जारी कफ्र्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समिति पर्साको निर्णयअनुसार बिहान ९ः४५ बजेदेखि लागू गरिएको कफ्र्युलाई साँझ ४ः३० बजेदेखि निषेधाज्ञामा सीमित गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि कफ्र्यु आदेश हटाउने निर्णय गरिएको जानकारी दिनुभयो। उक्त बैठक जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा बसेको थियो। आइतबार वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा भएको घटनासम्बन्धी तीनबुँदे सहमति भएपछि कफ्र्यु हटाइएको बताइएको छ।

प्रजिअ दाहालका अनुसार समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएकाले कफ्र्यु निरन्तरता दिन आवश्यक नदेखिएको हो।

यद्यपि, अवस्था पूर्ण रूपमा सामान्य नभएकाले वीरगञ्ज महानगरको चारकिल्लाभित्र मङ्गलबार बिहान ८ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।

प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोकलाई सीमाना तोक्दै उक्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाइने जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई संयमित रहन र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।तिधज्ञ