मुस्ताङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीअन्तर्गत मुस्ताङको विकट हिमाली बस्ती साङ्ता पुग्ने सडकमा जमेको हिउँ पन्छ्याउने कार्य मङ्गलबारदेखि सुरु गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्ने साङ्ता मतदान केन्द्रसम्म सवारी सञ्चालन सम्भव बनाउन हिमपातले अवरुद्ध सडक खुलाउने प्रयास थालिएको स्थानीय जनप्रतिनिधिले जनाएका छन् ।
गत कात्तिक १० गतेदेखि लगातारको हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार निर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्रसम्म सहज पहुँच सुनिश्चित गर्न हिउँ पन्छ्याउने काम सुरु गरिएको हो। “निर्वाचनका लागि मतदान सामग्री र सुरक्षाकर्मी पुग्न सकून् भनेर सडक खुलाउने काम थालेका छौँ,” उनले भने, ।
समुन्द्री सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबैभन्दा पछि पत्ता लागेको बस्तीका रूपमा चिनिन्छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट करिब ४० किलोमिटर उत्तर–पश्चिममा पर्ने यो गाउँ भौगोलिक रूपमा अत्यन्त विकट छ । यहाँस्थित हिमाली आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको छ, जहाँ कुल ३९ जना मतदाता रहेका छन् ।
तर हिउँदयामको कठोर चिसोका कारण साङ्ता गाउँ अहिले प्रायः सुनसान छ । जाडो छल्न गाउँका अधिकांश नागरिक मङ्सिर अगावै जोमसोम आसपासका गाउँ तथा पोखरा–काठमाडौँतर्फ सरेका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठालाबाहेक अन्य घरधुरीहरूमा ताल्चा लागेको अवस्था छ। जम्मा १३ घरधुरी रहेको साङ्ता गाउँ हिउँदयाममा गुमनामजस्तै देखिन्छ ।
स्थानीय बासिन्दा सामान्यतया चैत–वैशाख महिनातिर मात्रै गाउँ फर्किने गर्छन् । तर यसपटक निर्वाचनमा सहभागिता जनाउन उनीहरूलाई निर्धारित मितिभन्दा अघि गाउँ पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । मतदान गर्न २१ फागुनअघि नै गाउँमा उपस्थित हुनुपर्ने भएकाले सडक खुलाउन प्रशासनले विशेष प्राथमिकता दिएको हो ।
यसैबीच, केही दिनअघि जिल्ला सुरक्षा समितिको टोली साङ्ता मतदान केन्द्रको स्थलगत अवलोकनका लागि प्रस्थान गरेको भए पनि हिमपातका कारण सडक अवरुद्ध हुँदा आधा बाटोबाटै फर्किनुपरेको थियो । मुस्ताङका अधिकांश मतदान केन्द्रहरूको अनुगमन सम्पन्न भइसके पनि साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र भने प्रतिकूल मौसमका कारण अनुगमन हुन सकेको छैन ।
निर्वाचन आयोगले विकट तथा हिमाली क्षेत्रमा पनि मताधिकारको सुनिश्चितता गर्न विशेष व्यवस्था मिलाउँदै आएको छ । साङ्ता जस्ता दुर्गम बस्तीमा सडक खुलाउने प्रयासले निर्वाचनको पहुँच विस्तार र लोकतान्त्रिक अधिकारको प्रत्याभूति दिलाउने विश्वास स्थानीय प्रशासनले व्यक्त गरेको छ । हिमाली चुनौतीका बीच निर्वाचन तयारी तीव्र बनाइएपछि अब साङ्ता गाउँमा पनि लोकतन्त्रको पर्व सम्पन्न हुने अपेक्षा गरिएको छ ।



