सुशासन र नागरिक अपेक्षामा केन्द्रित भएर काम गर्न कार्यवाहक प्रमुख डंगोलकाे निर्देशन

काठमाडौँ — काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाका असल अभ्यासलाई निरन्तरता दिँदै नागरिकले राखेका अपेक्षालाई मूल आधार बनाएर काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेपछि आज पहिलो पटक विभागीय प्रमुखहरूको बैठक बोलाउँदै उहाँले ‘सुशासन’, ‘नागरिक अपेक्षा’ र ‘असल तथा सफल अभ्यासको निरन्तरता’मा सबैको साझा दृष्टि हुनुपर्ने बताए । आन्तरिक तथा बाह्य सम्बन्ध सुदृढ बनाउँदै पारदर्शिता, इमान्दारिता र जनभावनाप्रति उत्तरदायी भएर फराकिलो दृष्टिकोणसहित काम गर्न उनले आग्रह गरे ।

“नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्ने सुविधा र सहजतामा ध्यान दिनुपर्छ,” डंगोलले भने, “समन्वय, सहकार्य र साझेदारितालाई बलियो बनाउँदै पुँजीगत खर्च गर्ने क्षमता बढाउनुपर्छ । कार्यान्वयन गर्ने भनिएका योजना अनिवार्य रूपमा कार्यान्वयनमा आउनुपर्छ ।”

कार्यवाहक प्रमुख डंगोलले भोलिदेखि निरन्तर रूपमा विभागीय तथा क्षेत्रगत उपलब्धिबारे जानकारी लिने र नतिजा वृद्धि गर्ने एजेन्डामा छलफल गर्ने कार्यक्रमसमेत तय गरेका छन् ।

आजको बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तथा विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।