हेटौँडा, – मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने भएको छ । यसका लागि हेटौँडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयबीच सम्झौता भएको हो ।
‘सिटीज फर वुमन नेपालः समावेशी र जलवायु प्रतिरोधी सहरीकरण’ परियोजनाअन्तर्गत भएको उक्त सम्झौताअनुसार, युएनओपिएसले हेटौँडा उपमहानगरपालिकालाई एक लाख ८४ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
उपमहानगर प्रमुख मीनाकुमारी लामाका अनुसार सम्झौताले हेटौँडालाई समावेशी र जलवायु प्रतिरोधी सहरका रूपमा विकास गर्न स्थानीय सरकारका योजना निर्माण र कार्यान्वयनमा ठोस सहयोग पु¥याउनेछ ।
सम्झौताअनुसार, परियोजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले पनि कुल लागतको ३० देखि ५० प्रतिशत रकम साझेदारी गर्नेछ ।
‘सिटीज फर वुमन’ परियोजनाको उद्देश्य तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका कारण उत्पन्न चुनौतीको सामना गर्दै समावेशी, सुरक्षित र वातावरणमैत्री सहर विकास गर्नु रहेको बताइएको छ ।
यस परियोजनामार्फत महिलाको सहभागिता, सहरी पूर्वाधार सुदृढीकरण र दिगो सहरी विकासका पहलहरूलाई पनि प्राथमिकता दिइने उपमहानगरले जनाएको छ ।



