आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ, – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विकास खर्च अपेक्षाकृत कम देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्म पुँजीगत खर्च केवल १९ प्रतिशतको हाराहारीमा रहेको छ।

सङ्घीय सरकारले चालु वर्षका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेकोमा फागुन मसान्तसम्म रु ९ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख खर्च भएको छ। चालु खर्चको विनियोजन रु ११ खर्ब ८० अर्ब ९८ करोड रहेकोमा ५४.३७ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चमा रु ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजनमा १९.२४ प्रतिशत मात्र खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा रु ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजनमा ५४.८९ प्रतिशत खर्च भएको छ।

त्यस्तै, फागुन मसान्तसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको आधाभन्दा कम, ४९.८९ प्रतिशत पुगेको छ। चालु वर्षका लागि सरकारले रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म रु ७ खर्ब ६५ अर्ब १० करोड १६ लाख मात्र सङ्कलन भएको छ। कर राजस्वतर्फ वार्षिक लक्ष्यको ५१.०४ प्रतिशत असुली भएको छ भने गैरकर राजस्व ४५.७८ प्रतिशतमा सीमित छ।

सरकारले चालु आर्थिक वर्षमा रु ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिन तय गरेकोमा फागुन मसान्तसम्म २४.७८ प्रतिशत अर्थात् रु १३ अर्ब २४ करोड ५० लाख मात्र प्राप्त भएको छ।