काठमाडौँ, – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई उपचारका लागि अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
मिर्गौला प्रत्यारोपण गराएका बिरामी भएकाले प्रारम्भिक रूपमा उनँलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले उनको स्वास्थ्य जाँच गरेको थियो ।
अस्पताल स्रोतका अनुसार ओलीको रगत परीक्षण, भिडियो एक्सरेलगायतका विभिन्न स्वास्थ्य परीक्षण गरिएको थियो। ती परीक्षणपछि उनलाई एनेक्स वान भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।
५०१ नम्बर बेड रहेको भवनमा लैजाँदा उनलाई गाडीमार्फत सारिएको अस्पतालले जनाएको छ ।
जेन–जी आन्दोलनका क्रममा दमन गरेको आरोपमा कारबाही सिफारिस भएपछि प्रहरीले आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट ओलीलाई पक्राउ गरेको थियो । सोही प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले आजै पक्राउ गरेको छ ।
आज शनिबार सार्वजनिक बिदा परेकाले दुवै नेतालाई आइतबार मात्रै अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



