पर्यटकको आकर्षण बन्दै रास ताल

सुनसरी, – सुनसरी जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र भए पनि पछिल्लो समय रास ताल आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यस तालमा पछिल्ला वर्षहरूमा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ ।

अन्य तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर ‘फिसिङ’ अर्थात् माछा मार्ने सुविधा उपलब्ध हुनु यहाँको मुख्य आकर्षण मानिन्छ । यही कारणले दैनिक रूपमा धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगञ्ज लगायतका स्थानका साथै भारतका विभिन्न क्षेत्रबाट पनि पर्यटक यहाँ आउने गरेका छन् ।

वनभोजका लागि उपयुक्त मानिएको यस क्षेत्रमा एकैपटक १४५ समूहसम्मलाई व्यवस्थापन गर्न सकिने संरचना निर्माण गरिएको छ । पिकनिक सिजनमा दैनिक आठदेखि १० हजारभन्दा बढी पर्यटक आउने गरेका छन् भने अफसिजनमा पनि दैनिक दुईदेखि तीन सय पर्यटक पुग्ने गरेका छन्। रास ताल व्यवस्थापन समितिका सचिव भीमबहादुर माझीका अनुसार विशेषगरी मङ्सिर, पुस तथा वैशाख–जेठ महिनामा पर्यटकको आगमन बढी हुने गर्दछ ।

सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने ६१ हेक्टर क्षेत्रफलमध्ये करिब आठ हेक्टरमा फैलिएको यस ताललाई राष्ट्रिय विभूति इमानसिंह चेम्जोङसँग जोडेर २०७१ सालदेखि स्थानीय पहलमा पर्यटकीय नमूना क्षेत्रका रूपमा विकास गर्न थालिएको हो । कोशी प्रदेश पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटअन्तर्गत विनियोजन गरेको रु ८० लाखबाट यहाँ भ्यूटावर, इमानसिंह चेम्जोङको सालिक तथा २९ हेक्टर क्षेत्रमा तारबार निर्माण गरिएको समितिले जनाएको छ ।

त्यसैगरी यहाँ एक सयभन्दा बढी जातजातिको प्रतिनिधित्व हुने नमूना मठमन्दिर, सांस्कृतिक झाँकीसहित मेला लाग्ने स्थल र सङ्ग्रहालयसमेत निर्माण गरिएको छ ।

समितिका सचिव माझीका अनुसार रु तीन सय शुल्क तिरेपछि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म माछा मार्न पाइन्छ । दिनभरमा समातेको माछा पर्यटक आफैँ लैजान पाउँछन्, कतिपयले एकैदिन १० केजीसम्म माछा समातेका उदाहरण छन्। तालमा कमलकार, ग्रास, रहु, नौनीलगायत सात प्रजातिका माछा पाइन्छन् ।

यस तालमा आउने पर्यटकले बोटिङको सुविधा लिन सक्नेछन् भने सानो चिडियाघरमा खरायो, हुचिल, चिल, बाँदर, अजिङ्गरलगायत जीवजनावर अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ । तालको बीचमा करिब रु १५ लाख लागतमा टापु निर्माण गरिएको छ भने तीनवटा काठका पुलमार्फत वारपार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

तराई क्षेत्रमा दुर्लभ मानिने सल्ला र सिरिसका बिरुवा रोपेर वातावरणीय सौन्दर्य थपिएको छ। करिब रु २५ लाख लागतमा मुख्य प्रवेशद्वार तथा ट्री–हाउस निर्माण गरिएको छ, जहाँबाट सम्पूर्ण तालको दृश्यावलोकन गर्न सकिन्छ।

पिकनिक र बोटिङबाट वार्षिक रूपमा रु छदेखि सात लाखसम्म आम्दानी हुने गरेको समितिको भनाइ छ। उक्त रकम ताल संरक्षण र पूर्वाधार विकासमा खर्च गरिँदै आएको छ। स्थानीय व्यापारीका अनुसार पर्यटकको आगमनसँगै आसपासका खाजा–नास्ता पसल तथा अन्य व्यवसायसमेत चलायमान भएका छन्।

तर बजेट अभावका कारण केही पूर्वाधार निर्माण अझै अधुरो रहेको भन्दै स्थानीयले प्रदेश तथा स्थानीय सरकारबाट थप लगानीको आवश्यकता औँल्याएका छन्। संरक्षण र व्यवस्थित विकासमा ध्यान दिन सके रास ताललाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै स्थानीय आर्थिक समृद्धिको आधार बनाउन सकिने सम्भावना रहेको छ।