साढे छ महिनामा ७५ हजार क्विन्टल चामल ढुवानी

काठमाडौँ, फागुन २८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७५ हजार क्विन्टल चामल ढुवानी गरेको छ । खाद्य कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि फागुुनको पहिलो सातासम्म ७५ हजार ३६० क्विन्टल चामल ढुवानी गरेको हो ।

चालू आर्थिक वर्षमा दुर्गम जिल्लामा दुई लाख १८ हजार १६८ क्विन्टल स्वीकृत कोटाअनुसार सो परिमाणको चामल ढुवानी भएको हो । उक्त चामल ढुवानीमा १८ करोड ५१ लाख ६७ हजार ८४४ रुपियाँ खर्च भएको खाद्य कम्पनीले जनाएको छ ।

खाद्य कम्पनीले विभिन्न २४ दुर्गम जिल्लामा चामल ढुवानी गर्दै आएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा दुर्गम जिल्लाका जनतालाई सुपथ मूल्यमा चामल उपलब्ध गराउन ४९ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

कम्पनीका अनुसार चालू आर्थिक वर्षका लागि सोलुखुम्बुका लागि चार हजार क्विन्टल कोटा रहेकोमा फागुन पहिलो सातासम्म एक हजार ३४० क्विन्टल ढुवानी भएको छ । एक हजार पाँच सय क्विन्टल कोटा रहेकोमा ओखलढुङ्गामा १७१ क्विन्टल ढुवानी भएको छ । यस्तै सङ्खुवासभामा एक हजार आठ सय क्विन्टल स्वीकृत कोटा रहेकोमा फागुन पहिलो सातासम्म एक हजार २६५ क्विन्टल चामल ढुवानी भएको छ भने भोजपुरमा एक सय क्विन्टल कोटा स्वीकृत भएकोमा सबै चामल ढुवानी भएको छ ।

खोटाङमा तीन हजार क्विन्टल कोटा रहेकोमा फागुन पहिलो सातासम्म १७१ क्विन्टल, मनाङमा तीन हजार क्विन्टल कोटामध्ये २८५ क्विन्टल र मुस्ताङमा दुई हजार क्विन्टल कोटा रहेकोमा ४२० क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ ।

यसैगरी चार हजार क्विन्टल कोटा रहेको गोरखामा एक हजार ३३२ क्विन्टल, तीन हजार क्विन्टल कोटा रहेको रुकुमपूर्वमा एक हजार ६२३ क्विन्टल, चार हजार पाँच सय क्विन्टल कोटा रहेको रुकुमपश्चिममा दुई हजार ३३५ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ ।

यसैगरी फागुन पहिलो सातासम्ममा रोल्पामा १२१ क्विन्टल, जाजरकोटमा आठ हजार ७३० क्विन्टल, दैलेखमा दुई हजार ५३१ क्विन्टल, जुम्लामा छ हजार ८१६ क्विन्टल, कालीकोटमा दुई हजार ९३४ क्विन्टल र मुगुुमा सात हजार ३१ क्विन्टल चामल ढुवानी भएको छ । यी जिल्लाहरूमध्ये रोल्पामा दुई हजार क्विन्टल, जाजरकोटमा २० हजार क्विन्टल, दैलेखमा छ हजार क्विन्टल, जुम्लामा १४ हजार पाँच सय क्विन्टल, कालीकोटमा १० हजार क्विन्टल र मुगुमा २५ हजार क्विन्टल स्वीकृत कोटा रहेको छ ।

डोल्पामा २५ हजार आठ सय क्विन्टल कोटामध्ये नौ हजार ९६० क्विन्टल, हुम्लामा २३ हजार क्विन्टलमध्ये नौ हजार ५९ क्विन्टल, बझाङमा पाँच हजार क्विन्टलमध्ये एक हजार ३०१ क्विन्टल, बाजुरामा २५ हजार क्विन्टलमध्ये छ हजार १८५ क्विन्टल, अछाममा चार हजार क्विन्टलमध्ये एक हजार आठ सय क्विन्टल, दार्चुलामा १६ हजार ५६८ क्विन्टलमध्ये सात हजार ४०२ क्विन्टल ढुवानी भएको छ भने बैतडीमा चार हजार पाँच सय क्विन्टल कोटा रहेकोमा अहिले चामल ढुवानी नभएको कम्पनीले जनाएको छ ।

फागुन दोस्रो सातासम्म खाद्य कम्पनीले सुगम जिल्लामा ५३ हजार १५० क्विन्टल चामल ढुवानी गरेको जनाएको छ । साउनदेखि फागुन दोस्रो सातासम्म दुर्गम र सुगम जिल्लामा गरेर एक लाख २८ हजार ५१० क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ । २० करोड ७२ लाख ७९ हजार ६३६ रुपियाँ खर्च भएको छ ।

खाद्य कम्पनीले गत आर्थिक वर्ष तीन लाख आठ हजार क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य राखेकोमा दुई लाख ५४ हजार ६२९ क्विन्टल चामल ढुवानी गरेको थियो । आव २०७८÷७९ को बजेटमा चामल ढुवानीका लागि ४६ करोड रुपियाँ विनियोजन गरिएको थियो ।