गभर्नर पौडेल सुरक्षित, डेपुटी गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्ने

काठमाडौँ – नयाँ सरकार गठनपछि राजनीतिक नियुक्ति लिएकाहरूलाई राजीनामा दिन दबाब दिइने चर्चा चलिरहेका बेला डा. विश्व पौडेलको नेतृत्वमा रहेको नेपाल राष्ट्र बैंक मा भने यस्तो आशंका अन्त्य भएको छ ।

राजनीतिक वृत्तमा गभर्नर पौडेल नयाँ सरकारको ‘हिट लिस्ट’मा पर्न सक्ने चर्चा भए पनि प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँगको भेटपछि उहाँ सुरक्षित भएको संकेत देखिएको छ ।

विगतमा ‘कांग्रेसी’ पृष्ठभूमि भएको आरोप खेपिरहेका पौडेललाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गभर्नर नियुक्त गरेको थियो । त्यसैले नयाँ सरकार बनेपछि उहाँको पद सुरक्षित रहने वा नरहनेबारे आर्थिक तथा राजनीतिक वृत्तमा चर्चा चलिरहेको थियो ।

तर अर्थमन्त्री वाग्ले र प्रधानमन्त्री शाहसँगको छुट्टाछुट्टै भेटपछि गभर्नर पौडेलले निश्चिन्त भएर काम गर्न सुझाव पाएको स्रोतले जनाएको छ। भेटका क्रममा राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय नगरी विज्ञताको सम्मान गर्दै काम गर्ने विषयमा सहमति भएको बताइएको छ।

अर्थमन्त्री वाग्लेले आगामी बजेट निर्माणको तयारीमा सहयोग गर्न गभर्नर पौडेलसँग अनुरोधसमेत गरेको जानकारी स्रोतले दिएको छ।

यसैबीच नेपाल राष्ट्र बैंक मा रिक्त रहेका डेपुटी गभर्नर पदमा नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल भएको छ। सम्भावित केही नामबारे छलफल भए पनि अन्तिम निर्णय भने भइसकेको छैन।

स्रोतका अनुसार गभर्नर पौडेलले अब डेपुटी गभर्नर सिफारिस गर्ने तयारी गरिरहनुभएको छ र सम्भवतः एक साताभित्र दुवै जना डेपुटी गभर्नर नियुक्त हुने सम्भावना छ।

यसअघि डेपुटी गभर्नर नीलम तिमिल्सिना र बमबहादुर मिश्र ले अवकाश पाएपछि फागुन २४ गतेदेखि उक्त पदहरू रिक्त रहेका छन्।