काठमाडौँ – नेकपा एमालेका युवा सांसद सुहाङ नेम्बाङले पार्टीको संसदीय दलको नेताको पदमा दाबी गरेका छन् । आज पार्टी कार्यालय च्यासलमा बसेको दलको बैठकमा उनले आफ्नो इच्छाबारे जानकारी गराएका हुन् ।
बैठकमा सहभागी नेताका अनुसार, सुहाङले पार्टीको विधि पद्धति र वरिष्ठताक्रमको सम्मान गर्ने पक्षमा रहे पनि अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै युवा नेतृत्वको भूमिका अघि बढाउनुपर्ने बताएका छन् ।
उनले भने, “अहिलेको जनभावना अनुरुप, आवश्यकता अनुसार र पार्टीले अवलम्बन गरेको सिद्धान्तअनुसार प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ । लोकतान्त्रिक अभ्यास अपनाउँदै म आफ्नो इच्छा व्यक्त गर्दछु ।”
सुहाङले संसदीय दलको नेताको उम्मेदवारीमा युवा ऊर्जालाई अग्रजहरूको अनुभव र आशिर्वादसँग जोड्ने रणनीति अपनाउनुपर्ने जोड दिएका छन् । उनले देशको वर्तमान परिस्थितिलाई पनि नजरअन्दाज नगरी दलभित्र निर्णय लिनुपर्ने सुझाव दिएका छन् ।
सांसद पदको शपथ ग्रहणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदीय दलको नेता बन्न आफू पूर्ण रूपमा तयार रहेको बताए । उनले थपे, “पार्टीले मलाई अगाडि बढ भन्नु भयो भने मैले खुट्टा कमाउदिनँ ।”
इलाम–२ बाट दोहोरिएर निर्वाचित ३६ वर्षीय सुहाङ नेम्बाङको उम्मेदवारीले एमालेभित्र युवा नेतृत्वको प्रश्नलाई पुनः सक्रिय बनाएको छ । विश्लेषकका अनुसार, उनका युवा र गतिशील दृष्टिकोणले पार्टीमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।



