काठमाडौँ – प्रतिनिधिसभाको सभामुख निर्वाचन आगामी चैत २२ गते हुने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख चयनका लागि निर्वाचन तालिका तय गरिएको हो। बैठकमा सहभागी रास्वपा सांसद खुश्बु ओलीका अनुसार सभामुख पदका लागि मनोनयन दर्ता चैत २० गते गर्ने प्रस्ताव गरिएको छ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भनिन्, “मनोनयन दर्ता पर्सिका लागि हुने कुरा भएको छ। निर्वाचन चाहिँ २२ गते गरेर सोही दिन पदबहाली पनि गर्ने कुरा भएको छ।”
सभामुख पद रिक्त भएपछि नयाँ सभामुख चयनका लागि संसद सचिवालयले आवश्यक प्रक्रिया अघि बढाएको हो। निर्वाचन सम्पन्न भएसँगै नवनिर्वाचित सभामुखले सोही दिन पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।



