पोलका तार हटाउन सिद्धार्थनगरको सात दिने अल्टिमेटम

भैरहवा, माघ २५ गते । सिद्धार्थनगर नगर क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले सम्बन्धित् कार्यालयहरुलाई सात दिनको अल्टिमेटम दिएको छ ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरीकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्ड्याइएका उपकरणहरूका कारण शहर कुरुप भएको भन्दै तार हटाउने पहल थालेको हो ।

नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको पोलमा टांगिएका तारहरुलाई व्यवस्थित गर्न नगरपालिकाको कार्यालयले सम्बन्धित् कार्यालयहरुलाई पत्रचार गरेर सात दिनको अल्टिमेटम दिएको छ ।

पोलमा यत्रतत्र टांगिएका इन्टरनेट, विद्युत् र टेलिकमका तारले नगरको सौन्दर्यकरणमा प्रभाव परेको साथै बजार क्षेत्र समेत कुरुप देखिएकोले पोलमा टांगिएका तारहरुको व्यवस्थित गर्न सम्बन्धित् कार्यालयहरुहरुलाई पत्रचार गरेर अनुरोध गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताउनुभयो ।

पोलमा सम्बन्धित् कार्यालयले वर्षौदेखि यत्रतत्र तार टाँग्दै आएको, तर व्यवस्थित गर्नतर्फ चासो नदेखाउँदा शहर नै कुरुप देखिएको छ ।