बादलको अभिव्यक्तिप्रति असन्तुष्ट जनाउदै योगेशले भने : न्यायालय र कर्मचारीतन्त्रप्रति कुनै वैरभाव छैन

काठमाडौं – योगेश भट्टराईले न्यायालय, सुरक्षा निकाय तथा कर्मचारीतन्त्रप्रति नेकपा एमालेको कुनै वैरभाव नरहेको स्पष्ट पारेका छन् ।

संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन नेपाली सेनासहित विभिन्न समूह सक्रिय रहेको भन्ने अभिव्यक्ति दिएपछि त्यसप्रति प्रतिक्रिया दिँदै भट्टराईले यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनले नेपाली सेना लगायतका सुरक्षा निकाय, न्यायालय तथा अन्य संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति आफ्नो पार्टीको सम्मान र विश्वास कायम रहेको बताए । “यी संस्थाहरूप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन,” भट्टराईले भने, “संसद वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष—कुनै पनि अवस्थामा एमालेको संस्थागत धारणा यही रहनेछ ।”

भट्टराईले जनताले व्यक्त गरेको जनमतलाई सम्मान गर्नु लोकतान्त्रिक संस्कार भएको उल्लेख गर्दै निर्वाचनमा भएको पराजयको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता पनि औँल्याए । कमजोरी सुधार गर्दै पुनः जनविश्वास हासिल गर्ने बाटोमा अघि बढ्नु नै जबज (जनताको बहुदलीय जनवाद) को मर्म भएको उनकोे भनाइ छ।

पछिल्ला दिनमा संसदभित्र राजनीतिक आरोप–प्रत्यारोप बढिरहेका बेला एमाले नेताको उक्त अभिव्यक्तिलाई संस्थागत धारणा स्पष्ट पार्ने प्रयासका रूपमा हेरिएको छ ।