काठमाडौँ – सुधन गुरुङले बीपी राजमार्गअन्तर्गत रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्। मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग्दै आएको समस्याबारे प्रत्यक्ष अवलोकन गर्न उनी त्यस क्षेत्रमा पुगेका हुन् ।
वर्षायाममा हरेक वर्ष बाढी आउने हुँदा बीपी राजमार्गको रोशी खोला आसपासका क्षेत्रमा समस्या बढ्दै गएको गुनासो आउने गरेको छ । यही समस्याको अवस्थाबारे बुझ्न गृहमन्त्री गुरुङ नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संगमस्थलमा पर्ने चौकीडाँडामा पुगेका हुन् ।
निरीक्षणका क्रममा उनले बाढीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थितिबारे जानकारी लिएका थिए।
सो अवसरमा कुनसाङ लामा, दिनेश लामा र मिमबहादुर वाइवालगायत स्थानीय जनप्रतिनिधिले गृहमन्त्री गुरुङलाई स्वागत गरेका थिए।



