काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेसँगै अब यात्रुहरूले न्यूनतम २५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
सरकारले बुधबार यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । यससँगै छोटो दूरीमा चल्ने माइक्रोबस, बसलगायत सार्वजनिक सवारीमा लाग्ने न्यूनतम भाडा बढेको हो ।
यसअघि छोटो दूरीका सवारीमा २० रुपैयाँदेखि २५ रुपैयाँसम्म भाडादर कायम गरिएको थियो। भाडा १६.७१ प्रतिशतले बढेपछि न्यूनतम भाडा करिब २३ रुपैयाँ ४५ पैसा हुन पुगेको छ।
तर सवारी चालकहरूले एक रुपैयाँ फिर्ता नदिने अवस्थाका कारण यात्रुहरूले छोटो दूरीमा यात्रा गर्दा पनि २५ रुपैयाँ नै तिर्नुपर्ने अवस्था हुने देखिएको छ ।
सरकारले यात्रुवाहक सवारीमा मात्र होइन, मालवाहक सवारीमा पनि भाडा वृद्धि गरेको छ। पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीमा १५.७५ प्रतिशतसम्म भाडा बढाइएको छ।



