काठमाडौं – आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले जारी गरेको सूचनाअनुसार सोही दिनबाट नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया सुरु हुनेछ भने वैशाख २१ गतेदेखि विद्यालयहरूमा नियमित पठनपाठन सुरु गरिनेछ ।
यसअघि नेपालमा प्रायः प्रत्येक वर्ष वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने प्रचलन थियो। तर यस वर्ष सरकारले वैशाख १५ गतेबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि भर्ना कहिलेबाट सुरु हुने भन्ने विषयमा अन्योल देखिएको थियो । केन्द्रले सूचना जारी गर्दै भर्ना अभियान पनि सोही दिनबाट सुरु हुने स्पष्ट पारेको हो ।
सूचनाअनुसार वैशाख २ गतेदेखि विद्यालयहरूले प्रवद्र्धनात्मक तथा रचनात्मक शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्नेछ । साथै वैशाख १५ गतेअघि नै शैक्षिक सत्रको कार्ययोजना, वार्षिक कार्यतालिका, शैक्षणिक योजना तथा विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी शिक्षकको पेशागत क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि विशेष योजना तयार पार्न पनि विद्यालयहरूलाई आग्रह गरिएको छ ।
सरकारले शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेकोले सोही अनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न केन्द्रले निर्देशन दिएको छ ।



