कर्मचारी कुटपिट आरोपमा सिरहा नगरपालिकाका मेयर नविन यादवविरुद्ध मुद्दा दर्ता

सिरहा – सिरहा नगरपालिका का नगर प्रमुख नविन यादव विरुद्ध कर्मचारी कुटपिट प्रकरणमा अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा का अनुसार मेयर यादवसहित दुई जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको हो । ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादव को जाहेरीका आधारमा मेयर यादव र रोहित मेस्तर विरुद्ध मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। साथै अनुसन्धानका लागि म्याद थपको अनुमति पनि लिइएको छ ।

गत सोमबार बिहान कार्यालय समयमा उपस्थित नभएको विषयलाई लिएर सुरु भएको विवाद चर्किँदै जाँदा कुटाकुटमा परिणत भएको बताइएको छ। पीडित पक्षका अनुसार मेयर यादवले कार्यालय सहयोगीलाई लात्ती र मुक्काले आक्रमण गरेका थिए। त्यसपछि बाहिरी व्यक्तिलाई समेत प्रयोग गरेर पुनः कुटपिट गराइएको आरोप लगाइएको छ।

घटनापछि आक्रोशित कर्मचारीहरूले मेयरमाथि कारबाहीको माग गर्दै नगरपालिकामा धर्ना र प्रदर्शन गरिरहेका छन्।

आन्दोलनरत कर्मचारीहरूले पीडितको निःशुल्क उपचार, उचित क्षतिपूर्ति, दोषीमाथि कडा कानुनी कारबाही तथा सुरक्षित र सम्मानजनक कार्य वातावरणको सुनिश्चितता गर्नुपर्ने माग राख्दै कामसमेत ठप्प पारेका छन्।