स्वरोजगार प्रवर्द्धनका लागि इलाम नगरपालिकाले २० उद्यमीलाई दियो ल्यापटप

इलाम – इलाम नगरपालिकाले स्थानीय स्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले २० जना उद्यमीलाई अनुदानमा ल्यापटप वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा उद्यमीहरूलाई ल्यापटप उपलब्ध गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले जानकारी दिए ।

अघिल्ला वर्षहरूमा नगरपालिकाबाट उद्यमशीलता तथा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूलाई छनोट गरी अनुदानमा ल्यापटप वितरण गरिएको उनले बताए ।

कार्यवाहक नगरप्रमुख विष्णुकुमारी लिम्बू दाहालले उद्यमीलाई व्यवसाय सञ्चालन तथा डिजिटल माध्यमबाट बजार विस्तार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले ल्यापटप उपलब्ध गराइएको बताए । “विगतका वर्षहरूमा यहाँका युवालाई उद्यमशीलता र सीप विकाससम्बन्धी विभिन्न तालिम दिएका थियौँ। तालिम लिएकामध्ये धेरैले व्यवसाय सञ्चालन गरिरहनुभएको छ,” उनले भने, “प्रविधिको प्रयोगले उद्यमीको कामलाई सहज बनाउने र व्यवसाय विस्तारमा मद्दत पुग्ने विश्वासका साथ २० जनालाई अनुदानमा ल्यापटप उपलब्ध गराइएको हो ।”

कार्यक्रमका लागि रु २० लाख बजेट विनियोजन गरिएको थियो। सोही बजेटबाट आवेदन आह्वान गरी छनोट भएका उद्यमीलाई ल्यापटप वितरण गरिएको दाहालले बताउँदै आगामी वर्षहरूमा पनि उद्यमी प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए ।

अनुदानमा ल्यापटप पाएपछि उद्यमीहरू पनि उत्साहित भएका छन् । उनीहरूले प्रविधिको प्रयोगमार्फत व्यवसाय सञ्चालन तथा डिजिटल माध्यमबाट बजार विस्तार गर्न यस्तो कार्यक्रम उपयोगी भएको बताएका छन् ।

इलामेली ललिपप उद्योगकी सञ्चालक सुस्मा राईले नगरपालिकाले दिएको सहयोगले व्यवसायलाई व्यवस्थित बनाउन र अनलाइन बजार विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाले ललिपप उद्योग, मौरीपालन, अचार उत्पादन, सैलुन व्यवसाय, राइस मिल/कुटानी–पिसानी, सोलार सर्भिस, सिलाइकटाइ, कृषि उपज सङ्कलन तथा प्याकेजिङ, चिया प्रशोधन र हस्तकला उद्योगजस्ता साना तथा मझौला व्यवसायमा संलग्न उद्यमीलाई प्रोत्साहनस्वरूप सहयोग गरेको जनाएको छ ।

नगरपालिकाका अनुसार प्रविधिको प्रयोगमार्फत उत्पादनको प्रचारप्रसार, लेखा व्यवस्थापन तथा बजारसँग जोडिन सहज हुने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा रोजगारी सृजना र उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्यका साथ चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।