अस्पतालमा आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, सट्टा बिदाको व्यवस्था गर्न निर्देशन

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेपछि केही अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गर्न थालेकाले मन्त्रालयले विज्ञप्तिमार्फत यस्तो निर्देशन जारी गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारी द्वारा हस्ताक्षरित विज्ञप्तिमा अस्पतालहरूले कामको भार र उपलब्ध जनशक्तिको आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

यस्तै, कर्मचारीलाई शनिबारबाहेक सातामा अर्को एक दिन बिदा दिने व्यवस्था गर्न र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदाको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।

मन्त्रालयका अनुसार यो व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागू हुने जनाएको छ।