यात्रुवाहक सवारी नयाँ बसपार्कबाटै सेवा सञ्चालन गर्न काठमाडौँ महानगरको अन्तिम चेतावनी

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत रूपमा यात्रुवाहक सवारी सञ्चालन गर्न अन्तिम ३ दिनको समयसीमा दिएको छ । महानगरले यसअघि चैत २५ गते सूचना जारी गर्दै लामो तथा छोटो दूरीका बस सेवा बसपार्कभित्रबाटै सञ्चालन गर्न आग्रह गरेको थियो ।

सोही विषयमा प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गर्न कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सोमबार बैठक बसेको हो । बैठकमा नुवाकोटतर्फ सेवा सञ्चालन गर्ने कम्पनीहरू सम्पर्कमा आएको तर धादिङतर्फका कम्पनीहरूले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । महानगरले त्यस्ता कम्पनीलाई ३ दिनभित्र अनिवार्य रूपमा एकीकृत प्रणालीमा आउन निर्देशन दिएको छ ।

बैठकमा सहरी यातायात व्यवस्थापन र सुरक्षालाई प्राथमिकता दिँदै महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरी संयुक्त अनुगमन टोली गठन गर्न निर्देशन दिइयो ।

कार्यवाहक प्रमुख डंगोलले बसपार्क व्यवस्थापनसँगै ठमेललगायतका क्षेत्रमा ध्वनि प्रदूषण, रात्रिकालीन व्यवसायका कारण सामाजिक वातावरणमा परेको असरबारे पनि गुनासा आएको उल्लेख गर्दै समन्वयात्मक अनुगमनबाट प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

बैठकमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले सहरी सुरक्षामा जनशक्तिभन्दा प्रविधिमैत्री निगरानी प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताए । प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गुण्डागर्दीविरुद्धको अभियान प्रभावकारी बन्दै गएको र निषेधित गतिविधिमा संलग्न २० विदेशी महिलालाई डिपोर्ट गरिएको जानकारी दिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडक अनुशासन कायम गर्न महानगर र ट्राफिक प्रहरीबीच समन्वय आवश्यक रहेको बताए ।

बैठकमा सार्वजनिक सवारी पार्किङ, टिकट काउन्टर सञ्चालन, यात्रु चढाउने–ओराल्ने प्रक्रिया तथा समग्र यातायात व्यवस्थापनका विषयमा छलफल भएको थियो । महानगरको निर्णयविपरीत बसपार्क बाहिरबाट सञ्चालन भइरहेको सेवामाथि नियन्त्रण कसरी गर्ने भन्ने विषयमा पनि गहन समीक्षा गरिएको थियो ।

प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा ७ सय सार्वजनिक सवारी बाहिरिने गरेका छन्, जसमा करिब आधा सवारी बसपार्क बाहिरै पार्किङ तथा यात्रु ओसारपसार गर्दै आएका छन्। यसलाई राजधानीको प्रमुख यातायात व्यवस्थापन चुनौतीका रूपमा लिइएको छ ।

ल्होत्से बहुउद्देश्यीय प्रा. लि.का अनुसार नयाँ बसपार्कबाट हाल ५७ कम्पनीका सवारी सञ्चालनमा छन् । बसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ र यहाँ एकैपटक ७५० सवारी व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ । दैनिक औसत ३४० सवारी आवतजावत गर्ने यस बसपार्कबाट पोखरा, बुटवल, स्याङ्जा, दाङलगायत जिल्लामा सेवा सञ्चालन हुँदै आएको छ ।