बीपी राजमार्ग पुनः अवरुद्ध, सोमबार निर्माण गरिएका सबै डाइभर्सन बगायो

काभ्रे – अविरल वर्षाका कारण विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार निर्माण गरिएका अस्थायी डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि सडक पुनः अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा र माम्ती क्षेत्रका डाइभर्सन बगाएको छ । यसका कारण सडकका विभिन्न खण्डमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ ।

डाइभर्सन बगाएपछि काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलीखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोट क्षेत्रमा सवारी साधनहरू होल्ड अवस्थामा राखिएको छ । प्रहरीले धुलिखेलमा रोकिएका गाडीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्दै चरिकोटतर्फ पठाइसकेको जनाएको छ ।

त्यस्तै मङ्गलटार क्षेत्रमा रोकिएका चारवटा विद्युतीय सवारीसाधनमा रहेका १६ जना यात्रुलाई तेमाल क्षेत्रको सडक प्रयोग गरी धुलिखेलतर्फ पठाउने तयारी भइरहेको छ ।

प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने योजना बनाएका यात्रुलाई हालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै सडक अवस्थाबारे अद्यावधिक जानकारी लिन नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।