राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक सङ्केत : अध्यक्ष ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्नेमा जोड दिएकाछन् ।
महासङ्घको ६०औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतका चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रयास सफल बन्दै गएको उल्लेख गर्दै निजी क्षेत्र नयाँ अवसरको खोजीमा सक्रिय रहेको बताए । “हामीले निराशालाई आशामा बदल्ने प्रयास गरेका छौँ, धेरै क्षेत्रमा सफल पनि भएका छौँ,” उनले भने, ।

ढकालले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक सङ्केत भएको बताउँदै झन्डै दुई तिहाइ समर्थनसहितको सरकारलाई नीतिगत स्थायित्व र विकासमा केन्द्रित हुन आग्रह गर्नुभयो। निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि पारित रणनीतिप्रति सरकारको प्रतिबद्धताले व्यवसायीहरूको मनोबल बढेको उनको भनाइ थियो।

उनले दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्न, आवश्यक कानुनी संशोधन तथा परिमार्जन प्रक्रिया तीव्र बनाउन सरकारलाई आग्रह गर्नुभयो। “निजी उद्यमीलाई भौतिक मात्र होइन, नीतिगत सुरक्षाको प्रत्याभूति आवश्यक छ,” उनले जोड दिए ।

नेपालमा हाल ठूलो आर्थिक अवसर रहेको उल्लेख गर्दै ढकालले राजनीतिक स्थायित्वलाई विकास र रोजगारी सिर्जनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। नेपालमा युवाको औसत उमेर करिब २५ वर्ष रहेको र छिमेकी भारत तथा चीन जस्ता ठूला बजार नजिक हुनु अवसरका रूपमा लिनुपर्ने उहाँको धारणा थियो ।

देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा हरेक वर्ष करिब सात लाख युवा विदेशिन बाध्य भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनलेउच्च ज्यालासहितको रोजगारी सृजना गर्नुपर्नेमा जोड दिनुभयो। साथै, मध्यपूर्व क्षेत्रमा देखिएको सङ्कटले पर्यटन, रेमिट्यान्स र इन्धन लागतमा असर पार्न सक्ने भन्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

ढकालका अनुसार हाल देशको कुल रोजगारीमध्ये करिब ८६ प्रतिशत निजी क्षेत्रले प्रदान गरिरहेको छ । अत्यधिक नियमनका कारण लगानी वातावरण प्रभावित भएको उल्लेख गर्दै उनले लगानीमैत्री नीति निर्माण गर्न सरकारलाई आग्रह गरे ।

बङ्गलादेश, रुवान्डा, कम्बोडिया, भियतनाम र लाओसजस्ता मुलुकहरूले निजी क्षेत्रलाई प्रोत्साहन गरी तीव्र आर्थिक प्रगति हासिल गरेको उदाहरण दिँदै उनले नेपालले पनि त्यही बाटो अपनाउनुपर्ने धारणा राखे ।

उनले लगानी वृद्धि, प्रविधिको उच्चतम प्रयोग, सदाचार प्रवद्र्धन र उत्पादनमूलक क्षेत्रको विस्तारमार्फत आर्थिक सुधार अगाडि बढाउनुपर्नेमा जोड दिँदै स्वदेशी पुँजी परिचालनका लागि लगानी कम्पनी स्थापना गर्ने महासङ्घको योजना कार्यान्वयनमा रहेको जानकारी दिए ।

ढकालले सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्दै मुलुकको आर्थिक विकासलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे ।