काठमाडौं – जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ । अदालतको यो आदेशसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउनुपर्ने भएको छ ।
न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएको हो । आदेशमा प्रतिवादीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको उल्लेख गरिएको छ।
आदेशमा भनिएको छ, “प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (३) बमोजिम म्याद थप गर्न मिलेन ।”
यसअघि सोमबार मात्रै सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी कसुरमा धरौटी वा जमानतको विकल्प हुँदाहुँदै हिरासतमा राखिएकोप्रति प्रश्न उठाएको थियो । तर, बीमासम्बन्धी कसुरमा भने सर्वोच्चले कुनै टिप्पणी गरेको थिएन।
सर्वोच्च अदालतको आदेशपछि सीआईबीले धितोपत्र कसुरको सट्टा बीमासम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको भन्दै गोल्छालाई रिहा नगरेको थियो। तर, सोही बीमासम्बन्धी कसुरमा म्याद थपका लागि अदालत लगिँदा जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेपछि अब गोल्छाको रिहाइको बाटो खुलेको छ।



