बजेट निर्माण प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ।

आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताको वास्तविक आवश्यकता, अपेक्षा र सुझाव समेट्ने उद्देश्यसहित डिजिटल प्लेटफर्म सुरु गरिएको सरकारले जनाएको छ । शासन व्यवस्थालाई थप पारदर्शी, सहभागितामूलक र जनमुखी बनाउने लक्ष्यसहित पोर्टल सञ्चालनमा ल्याइएको हो ।

यस पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ तथा नीतिनिर्माताले बजेट, विकासका प्राथमिकता तथा नीतिगत विषयमा आफ्ना सुझाव सिधै सरकारसमक्ष पेश गर्न सक्नेछन् ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस विज्ञ दीपा दाहालका अनुसार सरकारको नीतिनिर्माण प्रक्रियालाई प्रशासनिक सीमाभित्र मात्र नराखी आमजनताको भावना, अनुभव र विज्ञतालाई समेट्ने उद्देश्यले यो पहल गरिएको हो ।

उनले पोर्टलमार्फत नागरिक र राज्यबीचको दूरी घट्ने तथा सुशासनको नयाँ अभ्यास स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। प्राप्त सुझावलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक अध्ययन गरी नीतिगत रूपमा कार्यान्वयनमा लैजाने तयारी रहेको पनि बताईन् ।

यस प्रणालीमा नागरिकले दिएका सुझावको अवस्थाबारे जानकारी लिन सकिने ‘सुझाव ट्रयाक’ सुविधा पनि समावेश गरिएको छ । यसमार्फत सुझावको प्रगति तथा सरकारले चालेको कदमबारे प्रयोगकर्ताले जानकारी प्राप्त गर्न सक्नेछन् ।

सरकारले यो डिजिटल पहलमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गर्दै ‘समृद्ध नेपाल’ निर्माणमा रचनात्मक योगदान दिन आह्वान गरेको छ । नागरिकले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत आफ्ना रायसुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पठाउन सक्ने व्यवस्था गरिएको छ ।