आज सङ्घीय संसद्को बजेट अधिवेशन, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं – सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ ।
आजको कार्यसूचीअनुसार रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि सांसदहरूलाई अपराह्न ३ः४५ बजेअघि नै सिंहदरबारस्थित प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय भवन) मा उपस्थित हुन आग्रह गरिएको छ ।

यसअघि आजै दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसपछि सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नुहुनेछ । साथै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि प्रस्तुत गरिनेछ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुली ले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ पेस गर्नुहुने कार्यसूची पनि रहेको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्नेछन् ।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पेस गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ प्रस्तुत गर्नुहुनेछ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन् ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ प्रस्तुत गर्नेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नुहुने कार्यसूची रहेको छ । ती अध्यादेशहरू राष्ट्रियसभाको बैठकमा पनि प्रस्तुत गरिने जनाइएको छ ।