कर्मचारीलाई सरकारको चेतावनी : राजनीतिक गतिविधिमा संलग्न भए सेवाबाट हटाइने

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाटै हटाउन सकिने चेतावनीसमेत दिएको हो।

मन्त्रालयका अनुसार नेपालको संविधान र प्रचलित कानुनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक तथा उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको छ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) उद्धृत गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीलाई “भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने” व्यवस्था रहेको स्मरण गराएको छ।

सूचनामा सम्पूर्ण निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको छ। कुनै पनि राजनीतिक दलको सदस्यता लिने, भ्रातृ वा जनवर्गीय संगठनमा आबद्ध हुने, राजनीतिक गतिविधिमा सक्रिय हुने वा राजनीतिक पदका लागि उम्मेदवार बन्ने कर्मचारीमाथि कडा कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।

शाखा अधिकृत विवेक विडारी द्वारा हस्ताक्षरित सूचनामा कर्मचारीहरूको राजनीतिक संलग्नताले सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ।