प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल र निर्णय हुने

काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ ।

बैठकमा गत बैशाख २८ गते सोमबार रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

त्यस्तै, नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, सभामुखले नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको संसद् सचिवालयले जनाएको छ।

सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।