काठमाडौं – नयाँ वर्ष २०८३ को पहिलो महिना वैशाखमा देशभर घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार वैशाख महिनामा देशभरका भूमि प्रशासन कार्यालयमार्फत ५८ हजार ८८६ वटा घरजग्गा कारोबार सम्पन्न भएका छन् ।
यो संख्या अघिल्लो महिना चैतको तुलनामा ६.०४ प्रतिशतले बढी हो । चैत महिनामा ५५ हजार ५३१ वटा घरजग्गा कारोबार भएका थिए ।
यस्तै, गत वर्षको वैशाखसँग तुलना गर्दा कारोबार १२.३४ प्रतिशतले बढेको विभागले जनाएको छ । गत वर्ष सोही अवधिमा ५२ हजार ४१५ वटा कारोबार भएका थिए ।
घरजग्गा कारोबार बढेसँगै सरकारी राजस्व संकलनमा पनि सुधार देखिएको छ । चैत महिनामा घरजग्गा कारोबारबाट ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व उठेकोमा वैशाखमा यो बढेर ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।
विभागका अनुसार वैशाख महिनामा सेवा करबाट मात्रै ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ राजस्व उठेको छ । यस्तै, रजिस्ट्रेसन दस्तुरबाट ३३ करोड १९ लाख रुपैयाँ तथा पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ संकलन भएको जनाएको छ ।



