निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द, बिरामी प्रभावित हुने आशंका

काठमाडौँ – देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा पुगेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको बीमा सेवा कटौती गरेको छ । अब आकस्मिक बाहेकका सबै स्वास्थ्य बीमा सेवा स्थगित हुने भएका छन् ।

बोर्डले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा बन्द रहनेछन् । आकस्मिक सेवा भने यथावत रहनेछ ।

बोर्डको मिति २०८३ जेठ ११ गते बसेको बैठकले उक्त निर्णय गरेको बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जानकारी दिए । निर्णयपछि देशभरका सयौं निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमामार्फत उपचार लिइरहेका बिरामीहरू प्रभावित हुने देखिएको छ ।

बोर्डका कार्यकारी निर्देशक प्रजापतिका अनुसार हाल सेवाप्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । लामो समयदेखि बक्यौता भुक्तानी रोकिएको र वित्तीय दबाब बढ्दै गएपछि सेवा निरन्तरता दिन नसक्ने अवस्था आएको उनले बताए ।

सरकारले “सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच” भन्ने नारासहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले वित्तीय अव्यवस्था, प्रशासनिक कमजोरी र भुक्तानी संकटका कारण गम्भीर चुनौतीमा पुगेको छ ।

निजी अस्पतालहरूले बीमा कार्यक्रमअन्तर्गतको भुक्तानी नपाएको, दाबी रकम अड्किएको तथा प्रक्रिया झन्झटिलो भएको भन्दै लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए । केही अस्पतालहरूले त यसअघि नै बीमित बिरामी नलिने चेतावनीसमेत दिएका थिए ।

अब बोर्डले नै सेवा स्थगनको निर्णय गरेसँगै स्वास्थ्य बीमा कार्यक्रम व्यवहारिक रूपमा संकुचनको चरणमा पुगेको सरोकारवालाहरूको भनाइ छ ।