काठमाडौँ महानगरको राजस्व सङ्कलन ४ अर्ब २१ करोड नाघ्यो

काठमाडौं – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस ९ गतेसम्म चार अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

महानगरकी उपप्रमुख सुनिता डङ्गोलका अनुसार कुल सङ्कलनमध्ये आन्तरिक आयतर्फ दुई अर्ब ६७ करोड ७३ लाख ८८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ७७ करोड ९९ लाख ८० हजार रुपैयाँ तथा सङ्घ र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ७५ करोड ३९ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

उनीले समग्र आम्दानी लक्ष्यका आधारमा हालसम्म २७ दशमलव ८६ प्रतिशत प्रगति भएको जानकारी दिईन् । आन्तरिक आयतर्फ भने २६ दशमलव ४४ प्रतिशत प्रगति हासिल भएको उनको भनाइ छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य लिएको छ । यसमध्ये १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ आन्तरिक आयबाट सङ्कलन गर्ने लक्ष्य तय गरिएको छ ।

यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण र राजस्व बाँडफाँटमार्फत चार अर्ब चार करोड ३४ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

महानगर लेखा समितिका संयोजक गायत्री पुडासैनीका अनुसार यसअघि बेरुजु जनिएको २६ करोड ३९ लाख ५१ हजार ७३४ रुपैयाँ नियमित समपरीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा सिफारिस गर्ने प्रस्ताव १८औँ कार्यपालिका बैठकले पारित गरिसकेको छ ।

उहाँका अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि २०८०/०८१ सम्म फछ्र्योट हुन बाँकी बेरुजुमध्ये २२ करोड ७५ लाख ५१ हजार ७२३ रुपैयाँ नियमानुसार नियमित गर्नुपर्ने छ भने तीन करोड ६४ लाख ११ हजार रुपैयाँ समपरीक्षणका लागि सिफारिस गरिएको छ ।