काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तन मात्रले युगका अपेक्षा पूरा नहुने बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा, आचरण र मूल्यमान्यतामा समेत गहिरो परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे । “अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन,” उनले भने, ।
राष्ट्रपतिले गणतन्त्रको मर्यादा कायम राख्न राजनीतिक दल, नेतृत्व र राज्य संयन्त्र सबैले निष्ठा र मूल्यमान्यताको दायराभित्र रहेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने,“यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ ।”
उनले सामाजिक न्याय, विकास र समृद्धिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थक अभ्याससँग जोड्दै राजनीति र शासन प्रणालीलाई नैतिकता र उत्तरदायित्वसँग आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रपति पौडेलले हालको राजनीतिक परिस्थितिपछि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भई बलियो जनादेशसहितको सरकार बनेको उल्लेख गर्दै सुशासन, सार्वजनिक सेवा प्रवाह सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता सरकारका प्राथमिकता हुनुपर्ने बताए ।
उनले शासकीय सुधारका एक सय कार्यसूची कार्यान्वयन, संरचनागत तथा कानुनी सुधार र आर्थिक प्रणालीलाई सहज बनाउने दिशामा सरकारले अघि सारेका योजना प्रभावकारी रूपमा कार्यान्वयन भएमा जनतामा आशा बढ्ने विश्वास व्यक्त गरे ।
ढिलासुस्ती, अनियमितता र बेथितिलाई लोकतन्त्रका प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै उहाँले नागरिकमा निराशा फैलिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । “जबसम्म प्रत्येक नागरिकका जीवनमा आशाको दियो बल्नेछैन, तबसम्म गणतन्त्रको लक्ष्य पूरा हुँदैन,” उनले भने ।
राष्ट्रपतिले स्रोतको प्रभावकारी उपयोग, आर्थिक विकास र समृद्धिलाई नागरिक जीवनसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिँदै राजनीति, दल र नेतृत्वको चरित्र पनि परिवर्तन हुनुपर्ने धारणा राखे ।
उनले संघीय संरचनाअन्तर्गत स्थानीय र प्रदेश सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यास घरआँगनसम्म पुगेको बताए । यसले लोकतन्त्रको जगलाई थप मजबुत बनाउने विश्वास पनि उनले व्यक्त गरे ।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले शासकीय सुधार, सुशासन र जनउत्तरदायी नेतृत्वमार्फत मात्र लोकतान्त्रिक गणतन्त्रलाई सार्थक बनाउन सकिने स्पष्ट सन्देश दिएका हुन् ।



