आक्रोशित आशिका तामाङलाई आफ्नै सांसदले निकाले बाहिर

काठमाडौं — प्रतिनिधिसभा बैठकका क्रममा रास्वपा सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएपछि उनलाई आफ्नै पार्टीका सांसदहरूले बैठक कक्ष बाहिर लगेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रूपमा सांसदहरूको प्रश्नको जवाफ दिएर बैठकबाट बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषय उठाइरहेका बेला तामाङ आक्रोशित बनेकी थिइन् ।

त्यस क्रममा उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेकी थिइन् । स्थिति नियन्त्रण गर्न रास्वपाकै सांसदहरूले तत्काल उनलाई रोकेका थिए ।

सांसदहरू रञ्जु दर्शना, ज्वाला संग्रौला र भूमिका श्रेष्ठले उनको हात समातेर रोक्ने प्रयास गरेका थिए ।

तर अवस्था शान्त नभएपछि रास्वपाका सांसद रञ्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बैठक कक्ष बाहिर लगेका थिए । घटनापछि बैठक केहीबेर तनावपूर्ण बनेको थियो ।