मधेसमा बाल कुपोषण गम्भीर : ४४ हजार भन्दा बढी बालबालिका कुपोषित

काठमाडौं – मधेस प्रदेशमा बाल कुपोषणको अवस्था चिन्ताजनक देखिएको छ। स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरेको पोषण अवस्थाको परीक्षणअनुसार कुल २ लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको छ।

तीमध्ये ३५ हजार ८८३ जना बालबालिका कुपोषित, ८ हजार ७७१ जना शीघ्र कुपोषित र २ लाख ३३ हजार १८२ जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख छ।

यसरी कुपोषित र शीघ्र कुपोषित बालबालिकाको कुल संख्या ४४ हजार ६५४ पुगेको छ, जुन परीक्षण गरिएका बालबालिकाको १५.७६ प्रतिशत हो। स्वास्थ्य अधिकारीका अनुसार विश्व स्वास्थ्य संगठन (ध्ज्इ) को मापदण्डअनुसार यो अवस्था सङ्कटपूर्ण मानिन्छ।

मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीका अनुसार अभियानमार्फत गरिएको परीक्षणले यो तथ्य उजागर गरेको हो।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपानका कारण कुपोषणको समस्या जटिल बन्दै गएको बताउनुभएको छ।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेस प्रदेशका प्रदेश सचिव डा. प्रमोद यादवले कृषि उत्पादनमा सम्पन्न मानिने प्रदेशमै बाल कुपोषण उच्च हुनु चिन्ताजनक विषय भएको उल्लेख गर्नुभएको छ।

आंकडाअनुसार मधेस प्रदेशमा करिब २९ प्रतिशत बालबालिका जन्मिने र देशको कुल जनसंख्याको झण्डै २२ प्रतिशत जनसंख्या बसोबास गर्ने तथ्य पनि उल्लेख गरिएको छ।