काठमाडौं – सहरी विकासमन्त्री सुनिल लम्सालले सिरहा–धनुषा जोड्ने कमला पुल आगामी असार २५ गतेभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।
शनिबार पुलको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले भासिएको स्ल्याबसहितका संरचनागत समस्या पूर्ण रूपमा समाधान गरी एक महिनाभित्र पुल सञ्चालन गर्न स्पष्ट निर्देशन दिएका हुन् । उनले पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक अभावका कारण काम नरोकिने विश्वास दिलाए ।
निरीक्षण टोलीमा सिरहा–१ का सांसद बब्लु गुप्ता, क्षेत्र नं २ का सांसद शिवशङ्कर यादव, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतो तथा सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो ।
यसअघि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुल पुनर्निर्माणका लागि पर्याप्त बजेट विनियोजन नभएको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका थिए । पुल लामो समयदेखि सञ्चालनमा नआउँदा यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि आवतजावतमा कठिनाइ भोग्दै आएका छन ्।
स्थानीय युवा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) औरही गाउँपालिकाका सभापति सन्तोष यादवले मन्त्रीको निरीक्षण र निर्देशनपछि स्थानीयमा आशा बढेको बताए। उनका अनुसार पुल सञ्चालनमा आएपछि वर्षौंदेखिको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ ।
विसं २०६८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार सुरु गरिएको पुल निर्माण कार्य पटक–पटक म्याद थपिँदै २०७८ असारमा अन्तिम चरणमा पुगेको थियो। तर सोही वर्ष आएको बाढीका कारण दुई वटा पिलर भासिएर चार वटा स्ल्याबमा गम्भीर क्षति पुगेपछि पुल सञ्चालनमा आउन सकेको थिएन ।
निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले पनि तोकिएको समयसीमाभित्रै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।



