सिमकोट – कैलाश मानसरोवर दर्शनको याम सुरु भएसँगै हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै यात्रा गर्ने भारतीय धार्मिक पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । हालसम्म तीन हजार ७८० जना भारतीय पर्यटक हुम्ला भएर चीनको ताक्लाकोट हुँदै कैलाश मानसरोवर दर्शनका लागि गइसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु श्रेष्ठका अनुसार गत वैशाख ३० गतेदेखि भारतीय पर्यटकको आगमन सुरु भएको हो । हालसम्म हुम्ला आएका पर्यटकमध्ये एक हजार ८९२ महिला र एक हजार ८८८ पुरुष रहेका छन् ।
पर्यटकीय याम सुरु भएसँगै दैनिक ८० देखि २०० जना भारतीय पर्यटक हवाई मार्गबाट नेपालगञ्ज हुँदै सिमकोट आइपुग्ने गरेका छन् । उनीहरू सिमकोटबाट हिल्सा पुगेर चीनतर्फ प्रस्थान गर्ने गरेका छन् ।
पर्यटकको चाप बढेसँगै सिमकोट तथा हिल्सा क्षेत्रका होटल, रिसोर्ट र अन्य पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको व्यवसायीहरूले बताएका छन् । होटलहरू भरिभराउ हुन थालेका छन् भने सिमकोट विमानस्थलदेखि होटलसम्म सामान ओसारपसार गर्ने ३० भन्दा बढी भरियाले समेत रोजगारी पाएका छन् । स्थानीय रूपमा उत्पादन हुने कृषि उपजले पनि राम्रो बजार पाउन थालेको छ ।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहका अनुसार पर्यटकको बढ्दो आवागमनलाई व्यवस्थापन गर्न निजी वायुसेवा कम्पनीहरूले दैनिक छ उडान सञ्चालन गरिरहेका छन् । ताराको एउटा, सीताको दुई र समिट एयरका तीन उडानमार्फत बिहान ७ बजेदेखि बेलुकासम्म नेपालगञ्ज–सिमकोट सेवा सञ्चालन भइरहेको उहाँले जानकारी दिए ।
त्यसैगरी छ वटा हेलिकप्टर कम्पनीले सिमकोट–हिल्सा रुटमा सेवा दिइरहेका छन् । हेलिकप्टरहरू बिहान ६ः३० बजेदेखि साँझ ७ बजेसम्म लगातार उडान गरिरहेका छन् । पर्यटकको चहलपहल सिमकोटमा मात्र नभई नेपाल–चीन सीमा क्षेत्र हिल्सामा समेत बढेको छ ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले कैलाश मानसरोवर दर्शनका लागि आउने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेकाले सिमकोट विमानस्थल दिनभरि व्यस्त रहने गरेको बताए । उनका अनुसार हेलिकप्टर तथा विमानको चाप बढ्दा कतिपय समयमा विमानस्थलमा ट्राफिक जामजस्तै अवस्था समेत सिर्जना हुने गरेको छ ।
कैलाश मानसरोवर यात्रा यामले हुम्लाको पर्यटन तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै होटल व्यवसायी, यातायात सेवा प्रदायक, भरिया तथा स्थानीय किसानसम्मलाई प्रत्यक्ष लाभ पुर्याएको छ ।



