काठमाडौं – देशभरका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । विगतका वर्षमा महत्वाकांक्षी आकारका बजेट कार्यान्वयनमा चुनौती देखिएपछि यसपटक प्रदेश सरकारहरूले कार्यान्वयनयोग्य तथा यथार्थपरक बजेट ल्याउने तयारी गरेका छन् ।
प्रदेश सभाको बैठकमा सम्बन्धित प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ। संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित भएपछि बजेट प्रस्तुत गरिन्छ ।
मधेश प्रदेश सरकारले दिउँसो १ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ भने कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्नेछ ।
त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेश सरकारले दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यसूची बनाएका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत गर्ने तालिका सार्वजनिक गरेका छन् ।
प्रदेश सरकारहरू आगामी आर्थिक वर्षको बजेटमार्फत पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्ने तयारीमा छन्। सीमित स्रोत–साधन र कम बजेट खर्च हुने पुरानो प्रवृत्तिलाई ध्यानमा राख्दै यस वर्ष परिणाममुखी र कार्यान्वयनमा केन्द्रित बजेट ल्याइने अपेक्षा गरिएको छ ।



