मधेसमा यस वर्ष गहुँ उत्पादन घट्यो

जनकपुरधाम – मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य गिरावट आएको छ । गहुँ उत्पादनका लागि उर्वर मानिएको यस प्रदेशमा प्रतिकूल मौसम, रोग–कीराको प्रकोप तथा सिँचाइ र गुणस्तरीय बीउबिजनको अभावका कारण उत्पादन घटेको कृषि निर्देशनालयले जनाएको छ ।

मधेस प्रदेश कृषि निर्देशनालय, नक्टाझिज (धनुषा) का अनुसार यस वर्ष कुल तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले कुल पाँच लाख ४३ हजार १६० मेट्रिक टन उत्पादन भएको छ। अघिल्लो वर्ष भने एक लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३७ मेट्रिक टनका दरले सात लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी उत्पादन धनुषामा भएको छ। धनुषामा ३३ हजार ५०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.९४ मेट्रिक टनका दरले ९८ हजार ४९० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि निर्देशनालयले जनाएको छ ।

त्यस्तै रौतहटमा १७ हजार २९२ हेक्टरमा प्रतिहेक्टर ३.०५ मेट्रिक टनका दरले ५२ हजार ७४१ मेट्रिक टन, सर्लाहीमा २७ हजार ४०० हेक्टरमा ६९ हजार ५९६ मेट्रिक टन, महोत्तरीमा २७ हजार हेक्टरमा ७२ हजार ८०० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

सप्तरीमा २९ हजार ४०० हेक्टरमा ८२ हजार ३२० मेट्रिक टन, बारामा २९ हजार हेक्टरमा ७१ हजार ९२० मेट्रिक टन, पर्सामा २३ हजार २० हेक्टरमा ५९ हजार ८५२ मेट्रिक टन र सिरहामा १४ हजार १७६.४८ हेक्टरमा ३५ हजार ४४१ मेट्रिक टन गहुँ उत्पादन भएको विवरणमा उल्लेख छ ।

कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार यस वर्षको उत्पादन घट्नुमा प्रतिकूल मौसम, रोग–कीराको प्रकोप, सिँचाइको अभाव र गुणस्तरीय बीउबिजनको कमी प्रमुख कारण रहेका छन् ।