५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई गाउँपालिकाले ५० प्रतिशत महसुल अनुदान दिने

ताप्लेजुङ – सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ। गाउँपालिकाको १९औँ गाउँ अधिवेशनबाट सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उक्त व्यवस्था समावेश गरिएको हो।

आइतबार सम्पन्न अधिवेशनमा गाउँपालिका अध्यक्ष मानबहादुर राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै न्यून तथा मध्यम आय भएका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले विद्युत् महसुलमा अनुदान दिने कार्यक्रम ल्याइएको बताए । उनका अनुसार मासिक ५० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताले मात्र उक्त सुविधा पाउनेछन् भने सोभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई अनुदान लागू हुने छैन।

गाउँपालिकाका सूचना अधिकारी रुद्र बेघाका अनुसार पालिकाभित्र रहेका दुई हजार ५०० भन्दा बढी घरधुरीमध्ये मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने परिवारहरू यस कार्यक्रमबाट लाभान्वित हुनेछन्। विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउने निर्णयले ग्रामीण क्षेत्रका नागरिकको आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले कृषिलाई पनि प्राथमिकतामा राख्दै ‘एक घर एक करेसाबारी, प्राङ्गारिक तरकारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । स्थानीय उत्पादन वृद्धि, कृषिमा आत्मनिर्भरता र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि सारिएको अध्यक्ष राईले बताए ।

त्यसैगरी, ‘स्वस्थ माटो, स्वस्थ उत्पादन’ तथा ‘स्वस्थ भान्सा, स्वस्थ जीवन’ कार्यक्रमलाई प्रभावकारी बनाउन माटो परीक्षण तथा ल्याब सेवाको निरन्तरता, प्राङ्गारिक मल उत्पादन तथा प्रयोगमा प्रोत्साहन र पशुपालन क्षेत्रमा अनुदानको व्यवस्था गरिने जनाइएको छ।

यसैबीच, गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ८ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्णकुमारी कँडरियाले बजेट प्रस्तुत गर्दै विद्युत् महसुलमा अनुदान, कृषि उत्पादन वृद्धि, प्राङ्गारिक खेती प्रवद्र्धन तथा स्थानीय नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।