काठमाडौं – काठमाडौं महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका यात्रुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार सेवाको पहिलो दिन शनिबार दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौं ल्याइएको छ ।
महानगरपालिकाले शनिबारदेखि दुईवटा सवारीसाधन निःशुल्क रूपमा परिचालन गरेको छ । तीमध्ये एउटा यसअघि रसुवादेखि काठमाडौं यात्रु ओसार्ने १९ सिट क्षमताको सवारीसाधन हो । अर्को सवारीसाधन महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको हो । उक्त सवारीसाधनमा १० यात्रु अट्ने क्षमता छ ।
निःशुल्क सञ्चालन गरिएका सवारीसाधनको पहिचानका लागि अगाडि र पछाडि ब्यानर राखिएको छ भने दुवै सवारीसाधनमा नगर प्रहरी परिचालन गरिएको छ । विपद् व्यवस्थापनमा खटिएका जनशक्तिलाई प्रोत्साहित गर्न महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता मानन्धर तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापालगायतले सभागृहमा पुगेर उनीहरूलाई हौसला प्रदान गरेका थिए ।
कामको सिलसिलामा देशका विभिन्न स्थानबाट रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा पुगेका र विपद्पछि त्यहीँ अलपत्र परेका काठमाडौं फर्कन चाहने व्यक्ति तथा प्रभावित क्षेत्रमा आफन्तको खोजी गर्न काठमाडौंँबाट जाने व्यक्तिलाई लक्षित गरी निःशुल्क यातायात सेवा सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।
यी सवारीसाधनले दैनिक दुईपटक यात्रु ओसार्नेछन् ।
चार शववाहन परिचालन
यसैबीच, काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा चारवटा शववाहनसमेत परिचालन गरेको छ ।
महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले विपद् व्यवस्थापनमा सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने भन्दै महानगरपालिकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्न शनिबार चारवटा शववाहनको व्यवस्था गरेको बताउनुभयो ।
महानगरपालिकाले शनिबार नुवाकोट पठाएका चार शववाहनमध्ये एउटाले त्रिशूली सैनिक तालिम केन्द्रबाट पाँचवटा शव काठमाडौं ल्याएको छ । ल्याइएका शवमा चार पुरुष र एक महिला रहेका छन् ।
महानगरपालिकाका अनुसार यसरी ल्याइएका शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुझाइनेछ । शववाहन परिचालनका लागि सूर्यविनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरिएको छ ।



