काठमाडौं – प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर धान रोपाइँ गर्दै र दही–चिउरा खाएर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। खेतीपातीमा व्यस्त किसानले खेतमा काम गरेपछि शक्ति र ताजगी प्राप्त हुने विश्वासका साथ दही–चिउरा खाने परम्परा रहिआएको छ।
असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्व का रूपमा पनि लिइन्छ। कृषिमा संलग्न किसान मात्र नभई विभिन्न पेसा र व्यवसायमा आबद्ध नेपालीले पनि आजको दिन दही–चिउरा खाएर पर्व मनाउने गर्छन् । नेपाली संस्कृतिमा दहीलाई शुभको प्रतीक मानिन्छ। शुभकार्यका लागि घरबाट निस्कँदा, विदेश जाँदा वा अन्य महत्वपूर्ण कार्यमा लाग्नुअघि दही सगुनका रूपमा खाने र दही–अक्षता लगाउने परम्परा आज पनि कायम छ ।
वैज्ञानिक तथा आयुर्वेदिक दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ। दहीले पाचन शक्ति बढाउने, शरीरलाई शीतलता प्रदान गर्ने तथा पखालाजस्ता समस्यामा पनि उपयोगी हुने विश्वास गरिन्छ। आयुर्वेदमा भोजनपछि दहीबाट बनाइएको मोही पिउनुलाई स्वास्थ्यका लागि लाभदायक मानिएको छ ।
नेपालमा राष्ट्रिय धान दिवस भने विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि मनाउन थालिएको हो । कृषिप्रधान मुलुक नेपालमा धान प्रमुख खाद्यान्न बाली भएकाले यस दिवसले किसानको श्रम र कृषि उत्पादनको महत्वलाई उजागर गर्ने उद्देश्य राखेको छ ।
असार महिनामा किसानहरू धान रोपाइँमा व्यस्त हुन्छन्। आजका दिन असारे भाका गाउँदै, हिलोमा रमाउँदै धान रोप्ने परम्परा नेपाली गाउँघरमा अझै जीवित छ । खेतमा हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्ने र लोकगीतमार्फत रोपाइँलाई उत्सवका रूपमा मनाउने चलनले यस पर्वलाई सांस्कृतिक महत्वसमेत दिएको छ ।
यद्यपि, यस वर्ष असारको मध्यसम्म पनि देशका सबै क्षेत्रमा पर्याप्त वर्षा हुन नसकेकाले अपेक्षित मात्रामा धान रोपाइँ हुन सकेको छैन। केही स्थानमा रासायनिक मल अभावको गुनासो किसानले गर्दै आएका छन्। यद्यपि, कृषि, वन तथा वातावरण मन्त्रालयले भने देशभर आवश्यक परिमाणमा रासायनिक मल मौज्दात रहेको जनाएको छ ।



