काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन क्रमशः सक्रिय बन्दै गएको जनाउँदै आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाले आइतबार साँझ जारी गरेको विशेष मौसम बुलेटिनअनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, देशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि विस्तार हुने सम्भावना रहेको छ।
सम्भावित भारी वर्षासँगै भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने र ठूला तथा साना नदी–खोलामा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।



