पर्वत, – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पर्ने लमाएखोला मोटरेबल पुल आठ वर्षपछि सम्पन्न भएको छ ।
फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास–१० कुर्घाबीच निर्माण गरिएको २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण व्यवसायीको ढिलासुस्ती तथा प्रारम्भिक गलत डिजाइनका कारण निर्धारित समयभन्दा निकै ढिला सम्पन्न भएको हो। दुई वर्षमा सक्ने लक्ष्यसहित विसं २०७४ असार २८ गते सम्झौता भई २०७४ पुस १९ गतेदेखि निर्माण सुरु भएको पुल २०७६ असार मसान्तभित्र सक्नुपर्ने थियो ।
रु पाँच करोड ८९ लाख ८९ हजार २७७ लागत अनुमान गरिएको पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभीले पाएको थियो । तर डिजाइन विवाद, निर्माण रोकावट र बाढीका कारण पटक–पटक म्याद थपिँदा आठ वर्षपछि मात्र निर्माण सम्पन्न भएको कालीगण्डकी करिडोर आयोजना कार्यालय ले जनाएको छ ।
आयोजना कार्यालयका साइड इञ्जिनियर पिपुल गौतम का अनुसार प्रारम्भिक डिजाइनप्रति स्थानीयको विरोध भएपछि नयाँ डिजाइन तयार गरी पुनः निर्माण थालिएको थियो । गत वर्ष बाढीले स्ल्याब ढलानको काम बगाइदिएपछि झनै ढिलाइ भएको उनले बताए । पुल निर्माणका लागि छैटौँ पटकसम्म म्याद थप गरिएको थियो ।
पुल सञ्चालनमा आएसँगै दक्षिण पर्वतका बासिन्दालाई सदरमुकाम कुश्माबजार आवतजावतमा सहज भएको छ । साथै लोकमार्ग हुँदै बुटवल, भैरहवा, पाल्पा, गुल्मी तथा मुस्ताङ, बागलुङ र म्याग्दीतर्फ आवतजावत गर्ने सवारीसाधनलाई प्रत्यक्ष लाभ पुगेको छ । यसअघि झन्डै एक घण्टा घुमाउरो बाटो प्रयोग गर्नुपर्नेमा अब पाँच मिनेटमै गन्तव्य पुग्न सकिने भएको छ ।
करिडोरअन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडक ट्र्याक खुलिसकेको छ भने सेतीवेणीदेखि लमाएखोलासम्मको सडक कालोपत्र भइसकेको छ । लमाएखोलामा पुल निर्माण सम्पन्न भएसँगै करिडोरमा सिधा यातायात सञ्चालन सुरु भएको छ ।
यससँगै फलेवास–अर्मादी खण्डको १४ किलोमिटर सडक कालोपत्रको काम पनि अघि बढेको आयोजनाले जनाएको छ। उक्त खण्ड सम्पन्न भएपछि पर्वत जिल्लाभित्र करिब ५५ किलोमिटर सडक निर्माण पूरा हुने अपेक्षा गरिएको छ ।



