सुनसरीको देवानगञ्ज घटना :  शान्ति र सामाजिक सद्भाव कायम गर्नसर्वपक्षीय सहमति

इनरुवा — सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपपछि उत्पन्न तनावपूर्ण अवस्था नियन्त्रण गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वदलीय तथा सर्वपक्षीय सहमति भएको छ।

आइतबार भएको झडपपछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिने, सामाजिक एकता कायम राख्ने तथा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरू सहभागी थिए। बैठकले अफवाहबाट टाढा रहन, सामाजिक सद्भाव कायम राख्न तथा सुरक्षा निकायलाई सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार बैठकले शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

निर्णयपछि स्थानीय जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरूले समुदायस्तरमा संवाद र समन्वय बढाएर सामाजिक सद्भाव कायम गर्ने पहल सुरु गरिसकेको बताएका छन्।

आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई पक्षबीच विवाद उत्पन्न भएको थियो। उक्त विवादले उग्र रूप लिएपछि भएको झडपमा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

घटनामा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन्। घटनापछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने घटनाको वास्तविकता पत्ता लगाउन छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रशासनले सबै पक्षलाई संयमित रहन, सामाजिक सद्भाव कायम राख्न र कुनै पनि अपुष्ट सूचना तथा अफवाहको पछि नलाग्न आग्रह गरेको छ।