काठमाडौं – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा राजस्व सङ्कलनतर्फ उल्लेखनीय प्रगति गर्दै वार्षिक लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको छ। पछिल्ला चार आर्थिक वर्षको तथ्याङ्कले कार्यालयको लक्ष्य प्राप्ति दर निरन्तर सुधार हुँदै गएको देखाएको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो। सो अवधिमा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन लक्ष्यको ९३.३० प्रतिशत हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएको थियो। त्यस वर्ष १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्दै ९१.८६ प्रतिशत लक्ष्य हासिल गरेको थियो। त्यसको तुलनामा गत आर्थिक वर्ष राजस्व सङ्कलन करिब १ अर्ब ७४ करोड ६० लाख रुपैयाँले बढेको छ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँको लक्ष्य रहेकामा १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो, जसले लक्ष्यको ७८.४० प्रतिशत मात्र पूरा गरेको थियो।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा २० अर्ब २४ करोड १८ लाख ३८ हजार रुपैयाँको लक्ष्य दिइएकामा १४ अर्ब ४ करोड ५९ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। त्यसबेला लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतमा सीमित थियो।
चार आर्थिक वर्षको तथ्याङ्कले मेची भन्सार कार्यालयको कार्यसम्पादनमा निरन्तर सुधार आएको देखाएको छ। लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशत पुगेको छ भने वार्षिक लक्ष्यमा उतारचढाव भए पनि वास्तविक राजस्व सङ्कलन प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ।
वि.सं. २०१३ मा स्थापना भएको मेची भन्सार कार्यालय नेपालका प्रमुख तथा रणनीतिक महत्वका भन्सार कार्यालयमध्ये एक मानिन्छ। कार्यालय मातहत छ वटा छोटी भन्सार कार्यालय रहे पनि हाल गौरीगञ्ज छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेको कार्यालयका सूचना अधिकारी माङ्कल राईले जानकारी दिएका छन्। अन्य पाँच वटा छोटी भन्सार कार्यालय भने हाल सञ्चालनमा छैनन्।
मेची भन्सार कार्यालयमार्फत भारत, चीन, बङ्गलादेश, भुटानलगायतका मुलुकसँग आयात–निर्यात व्यापार हुँदै आएको छ, जसका कारण यो कार्यालय पूर्वी नेपालको प्रमुख व्यापारिक नाकाका रूपमा परिचित छ।



