काठमाडाैं – काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक १० मिटर चौडा पारिने भएको छ। बिपी राजमार्गको प्रवेशबिन्दु धुलिखेलदेखि दाप्चा पुलसम्म करिब २० किलोमिटर सडक विस्तार गर्न लागिएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार हाल उक्त सडकखण्डमा मुख्य कालोपत्र भएको भागको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर मात्र छ। सडक विस्तारपछि मुख्य कालोपत्र भाग १० मिटरको हुनेछ।
सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने काम भइरहेको छ।
डिपिआरअनुसार सडक विस्तारमा तीन अर्ब ७९ करोड ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सडक कालोपत्रका लागि प्रतिकिलोमिटर १८ करोड पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ।
सडक विस्तार हुने क्षेत्रमा सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताउनुभयो। विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ।
यसैबीच, विसं २०८१ असोजमा आएको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आए पनि अहिले क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ।
क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढाइएको छ। काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीतर्फको एक सडकखण्डका लागि एक अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) निर्माण सुरु गरिएको थियो। एक सय ६० किलोमिटर लामो राजमार्ग निर्माण सम्पन्न भएपछि विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।



