काठमाडाैं – गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारतबाट १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको छ। स्वदेशमा विद्युत्को माग धान्न नसकेपछि सुख्खायाममा भारतबाट विद्युत् आयात गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले बर्खायाममा विद्युत् उत्पादन बढ्ने र सुख्खायाममा घट्ने बताए ।
उनका अनुसार बर्खायाममा खोलानदीमा पानीको बहाव बढ्दा विद्युत् उत्पादन उच्च हुने गर्छ। तर, सुख्खायाममा नदी तथा खोलामा पानीको बहाव घट्ने भएकाले विद्युत् उत्पादन कम हुन्छ। सोही समयमा आन्तरिक विद्युत् माग धान्न अपुग हुने बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे ।
मन्त्री श्रेष्ठले सुख्खायाममा हुने उत्पादन कमीका कारण स्वदेशी विद्युत् उत्पादनले मात्रै माग धान्न नसक्दा भारतबाट विद्युत् आयात गरिएको बताए । पछिल्लो समय नेपालमा विद्युत् खपत बढ्दै गएकाले सुख्खायाममा आपूर्ति व्यवस्थापनका लागि आयात आवश्यक परेको उनकाे भनाइ छ।



